भारतीय राजदूत नेपाल र चीनबीचको कोरला नाकामा किन पुगे

मुस्ताङः भारतीय राजदूत रणजित राय नेपाल र चीनको सीमा कोरला पुगेर त्यहाँको वस्तुस्थितिको जानकारी लिएका छन्। रणजितले मुस्ताङ यात्राका क्रममा कोरला नाका पुगेर त्यहाको वस्तुस्थिततिबारे जानकारी लिएका हुन् । भारतले नेपालमाथि नाकाबन्दी लाएपछि तत्कालीन केपी शर्मा ओली सरकारले सो नाका खोल्ने प्रयास गरेको थियो ।
भारतीय राजदूत रायले छ दिनसम्म मुस्ताङमा बसेर नेपाल–चीन सीमाका विभिन्न गतिविधिबारे जानकारी लिएका छन् ।
मुस्ताङ बसाइँका क्रममा उनले भारतीय लगानीमा विभिन्न गाविसका निर्माण भएका आधा दर्जन आयोजनाको उद्‌घाटन गरे।
दूतावासका दुईजना उच्चअधिकारीसहित असोज ६ गते मुस्ताङ ओर्लेका उनले भोलिपल्टै योगेन्द्र उच्च मावि टुकुचेको भवन, कागबेनीमा निर्मित तटबन्ध र मुक्तिनाथस्थित झारकोटमा सामुदायिक भवनको उद्‌घाटन गरेका थिए।
असोज ८ मा उनले मुक्तिनाथ दर्शन गर्नुका साथै मुक्तिनाथ क्षेत्रमा निर्माण गरिएको धर्मशाला र खानेपानी आयोजनाको औपचारिक उद्घाटन गरे।
स्थानीयवासी र मुक्तिनाथका पुजारीसँगको छलफलमा राजदूत रायले सरकारले आग्रह गरेको खण्डमा मुक्तिनाथको गुरुयोजनालाई सहयोग गर्न तयार रहेको बताएका थिए।
मुक्तिनाथ क्षेत्र विकास कोष र पुरातत्व विभागले मुक्तिनाथको बृहत्तर विकासका लागि एक अर्ब रुपैयाँभन्दा बढीको गुरुयोजना तयार पारेको छ।
असोज ९ गते लोमान्थाङ पुगेका राजदूत रायले भारतीय लगानीमा त्यहाँ निर्मित लोमान्थाङ गुम्बा र नाङ्गेल गुम्बाको अवलोकनसमेत गरेका थिए।
सोही दिन राजदूत राय कोरला नाका पुगेका हुन्। नेपाल र चीनबीच दीर्घकालसम्म नाका सञ्चालन गर्ने बहस चलिरहेको बेला भारतीय राजदूतको भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ।
लोमान्थाङ भ्रमणका क्रममा राजदूतको टोलीमा जिविस मुस्ताङका इन्जिनियर सकलदेव शर्मा पनि सहभागी थिए। रासस
Share on Google Plus

About Anonymous

0 comments:

Post a Comment