संसदको राज्य व्यवस्था समिति बैठकमा गत वर्ष कैलालीको टिकापुरमा भएको घटनाको विषयमा सांसदहरुबीच चर्काचर्की भएको छ । सिंहदरबारमा आज बसेको समितिको बैठकमा सत्तारुढ कंग्रेस, प्रमुख प्रतिपक्षी एमाले र मधेश केन्द्रित दलका सांसदबीच सो घटनाको विषयलाई लिएर चर्काचर्की भएको हो । सत्तापक्ष नेपाली कांग्रेस र मधेश केन्द्रीत दलका सांसदले कैलाली घटना राजनीतिक भएकाले त्यसै अनुसार समाधान गर्नुपर्नेमा जोड दिएका छन् । एमालेका सांसदले भने टीकापुर घटनाका दोषीलाई राजनीतिक आवरणमा उन्मुक्ति दिन नहुनेमा जोड दिएका थिए । कांग्रेस सांसद फरमुल्लाह मन्सुरले कैलाली घटना राजनीतिक भएकाले त्यसैअनुसार समाधान गर्नुपर्नेमा जोड दिनुभयो । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका सांसद रामजनम चौधरीले एमालेले दोहोरो चरित्र देखाएको आरोप लगाउनुभयो । एमाले सांसद रामेश्वर फुयालले राज्यविरुद्धको घटना भन्दै राजनीतिक आडमा माफी दिन नहुने बताउनुभयो । गत वर्ष भदौ ७ गते भएको टीकापुर घटनामा ८ सुरक्षाकर्मी र एक बालकको ज्यान गएको थियो । यसैबीच सोही समितिको बैठकमा उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले राजनीतिक सहमतिका आधारमा संविधान संशोधन गरी निर्वाचनमा जाने बताउनुभएको छ । गृहमन्त्री निधिले सरकारले सबै राजनीतिक दलहरुसँग छलफल गरिरहेको र त्यसकै आधारमा असन्तुष्ट पक्षको माग सम्बोधन हुनेगरी संविधान संशोधन गरिने प्रष्ट पार्नभयो । गृहमन्त्री निधिले समितिलाई संविधान संशोधनको गृहकार्य तीव्रगतिमा अगाडि बढिरहेको जानकारी गराउनुभयो । बैठकमा समिति सदस्यले दलहरुबीच राष्ट्रिय सहमति गरेर मात्र निर्वाचनको मिति तय गर्नुपर्नेमा जोड दिएका छन् ।
साभार रेडियो कान्तिपुर

0 comments:
Post a Comment