एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारले सोचविचार गरेरै चीनसँग सम्बन्ध बढाएको जिकिर गरेका छन्।
पत्रकार गोपाल खनालको पुस्तक 'भूराजनीति' विमोचनका कार्यक्रममा बोल्दै उनले यो राष्ट्रवाद सामन्ती राष्ट्रवाद नभएर सन्तुलित राष्ट्रवाद भएको बताए।
'अर्को कार्यक्रममा जानु छ' भन्दै पालो मिचेर बोलेका ओलीको भाषणको निशानामा सरकारका प्रवक्ता सुरेन्द्र कार्कीदेखि नेपाली कांग्रेससम्म थियो।
केही दिनअघि प्रवक्ता कार्कीको 'चीनको सीमामा भइरहेको विकास निर्माण पर्यावरण विपरित' भन्ने अभिव्यक्तिको अध्यक्ष ओलीले तिखो आलोचना गरे।
कार्कीलाई वातावरणविदको उपमा दिँदै उनले भने, 'एकजना वातावरणविदले केहीदिन अघि भन्नुभो, चीनतिर सडक रेल बनाउनु वातावरण विपरित हुन्छ भनेर। त्यो कुन पर्यावरण विपरित हुन्छ? राजनीतिक पर्यावरण विरुद्ध?'
कार्कीको यो अभिव्यक्तिको खण्डन नगरेकोमा एमाले अध्यक्ष ओलीले नेपाली कांग्रेसको पनि आलोचना गरे।
मञ्चमा बसिरहेका कांग्रेस नेता डा. रामशरण महततिर हेर्दै उनले सोधे, 'यो देशमा नेपाली कांग्रेस छ कि छैन? निदाएको छ कि व्युँझिएको छ ?'
डा. महत मुसुक्क हाँसेपछि ओलीले थपे, 'नेपाली कांग्रेसले के शिकार गर्यो र के पायो? किन खुट्टा पसारेर सुतिराखेको छ कांग्रेस?'
यतिञ्जेल मुसुमुसु हाँस्दै सुनिरहेका डा.महत वीपी कोइरालाको प्रसंगमा समेत अध्यक्ष ओलीले व्यङ्ग्य कसेपछि चुप रहन सकेनन्।
'नेपाली कांग्रेससँग वीपी कोइरालाको नाम छ, नीतिचाहिँ छ कि छैन ?'
प्रमुख अतिथीको मन्तव्य राखिरहेका अध्यक्ष ओलीलाई जवाफ दिँदै महतले भने, 'जरुर छ। झन् बलियो छ।'
'त्यो व्यवहारमा देखियोस्,' ओली फेरि नेता महततर्फ फर्किएर बोले।
पूर्वप्रधानमन्त्री ओलीले नेपालको असन्तुलित परराष्ट्र सम्बन्धलाई सन्तुलित बनाउन खोजेको बताए। आफू प्रधानमन्त्री भएकाबेला चीनसँग सम्बन्ध बिस्तार गरेर भारतमाथिको एकपक्षीय निर्भरता हटाउन खोजेको उनको जिकिर थियो।
उनले भने, 'भारतसँग मात्रै सम्बन्ध हुँदा, भारतमाथि मात्रै निर्भर हुँदाचाहिँ सन्तुलित हुने, चीनसँग सम्बन्ध अघि बढाउने बित्तिकै असन्तुलित हुने ? यो त सन्तुलनको नयाँ अर्थ आयो। सन्तुलनको डिक्सनरी नै फेर्नुपर्ने भयो अब।'
पत्रकार खनाललिखित पुस्तकमा उपयोगी सूचना भएको उनले बताए।
स्रोत:- सेतोपाटी बाट साभार
0 comments:
Post a Comment