श्रावण १४, २०७३
नयाँ सरकार निर्माणको कसरतमा रहेका कांग्रेस र माओवादी केन्द्रको चैतमा स्थानीय तहको चुनाव गर्ने सहमतिप्रति आशंका गर्दै प्रधानमन्त्री केपी ओली पहिले प्रतिनिधि सभाको चुनाव गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् । राजीनामा दिएर बसेका ओली मंसिरमा चुनाव गर्ने आफ्नो नेतृत्वको सरकारको घोषणा विपरित दुई दलले चैतको समयसिमामा सहमति गरेपछि आक्रोशित भएका हुन् । चैतमा स्थानीय तहको चुनाव सार्नु भनेको कुनै पनि चुनाव नगर्ने नियत रहेको ओलीको दाबी छ ।
‘अहिले सरकार गठनमा जुटेका दुई ठूला दलहरुले जनताको खपतका निम्ति फागुन चैतमा स्थानीय निकायको निर्वाचन गर्ने भनिदिएका छन् तर चुनाव नहुने खतरा छ,’ मदन भण्डारी फाउण्डेसनद्वारा शुक्रबार आयोजित नेपाल–भारत–चीन सम्बन्ध सम्बन्धि अन्तर्क्रियामा प्रधानमन्त्री ओलीले भने, ‘त्यसैले पहिले स्थानीय निकाय प्रदेश सभाको निर्वाचन होइन प्रतिनिधि सभाको चुनाव गर, २०७४ साल माघ ७ पछि यो संसद रहँदैन, त्यसपछि मुलुकमा भ्याकुम हुनसक्छ ।’
एकै पटक तीनवटै चुनाव गर्न नसकिने भएको चैतमा सार्दा कुनै पनि चुनाव हुन नसक्ने खतरा देखिएको ओलीको भनाइ छ । ‘आउँदो चैत वैशादेखि अर्को मंसिरम्म कतिवटा चुनाव गरिसक्नुहुन्छ ? एकै चोटी सबै निर्वाचन गर्नु हुन्छ ? यो भनेको चुनावै नै नगराउने बाटो समाउन खोजेको हो । संक्रमणकाल नटुंगिने गम्भीर खतरा देखिइसक्यो,’ ओलीले भने ।
पहिले स्थानीय निकाय प्रदेश सभाको निर्वाचन होइन प्रतिनिधि सभाको चुनाव गर, २०७४ साल माघ ७ पछि यो संसद रहँदैन, त्यसपछि मुलुकमा भ्याकुम हुनसक्छ
अहिलेको सरकार बदल्ने प्रयास नै मुलुकलाई निर्वाचन हुन नदिई जनप्रतिनिधिविहिन अवस्था ल्याउने खेल अन्तगर्गतको भएको ओलीको आरोप छ । ‘पहिले पनि संविधान सभा विघटन हुने अवस्था सिर्जना गरेर मुलुकलाई जप्रतिनिधिविहीन बनाइएको थियो,’ प्रधानमन्त्री ओलीले भने,‘ अहिले पनि सरकार बदलेर त्यही अस्थामा पुर्याउन खोजिएको छ ।’
ओली नेतृत्वको सरकारले आउदो मंसिरमा स्थानीय निकाय, वैशाख/जेठमा प्रदेश र २०७४ मंसिरमा प्रतिनिधि सभाको चुनाव गराउने गरी कार्ययोजना सार्वजनिक गरेको थियो । त्यसका लागि साउनभित्र स्थानीय तहको निर्धारण भदौमा कानुहरु निर्माण गर्ने, माघ महिनामा प्रतिनिधि सभा चुनावका लागि क्षेत्र निर्धारण गर्ने लगायतको कार्यूसूची थियो । उक्त कार्यसूची भन्दा तलमाथि भए २०७४ साल माघ ७ सम्म नयाँ संसद बन्न नसक्ने अवस्था आउने ओलीको बुझाई छ ।
नेपाल भारत र चीन तीन देशको सम्बन्धबारे समेत लामो टिप्पणी गरेका आफूले दुबै मुलुकसँग सार्वभौम राष्ट्रको हैसियतमा सन्तुलित सम्बन्ध बनाएर लगेको ओलीले दाबी गरे । तर सरकार परिवर्तनको विषयले सम्बन्धहरुमा तलमाथि हुने खतरा रहेको ओलीको आशंका थियो ।
‘कागका गुँडमा कोइलीले आफ्नो अण्डा हालेर बच्चा निकाले जस्तो अहिले नेपालको गुँडमा पनि के–के का अण्डा हालेर के–के का बच्चा निस्किए जस्तो देखिंदैछ,’ ओलीले भने, ‘आफूले जसो भन्यो त्यस्तै गराउने आए भनेर कोही कोही दसैं आउँदा केटाकेटी आँगनमा उफ्रे जस्तो गरेको दखिदै छ । तर अब बन्ने सरकारलाई जसो पायो त्यसै गर्ने स्वच्छन्दता हुने छैन । सचेत जनताको निगरानीको घेरामा हुन्छ ।’
नेपाली जनताको सजकता असाधारण र अभूतपूर्व रहेकाले जे मन लाग्यो त्यही गर्न छुट नदिने ओलीको दाबी छ । ‘बनुन्जेल एउटा कुरा हो । तर बनेपछि चल्नचाँही कसरी चल्दो रहेछ सचेत जनताले हेरिरहेका छन् । सरकार नेपालमै चलाउने त होला नि ?’ ओलीले भने ।
उनले मित्रराष्ट्रहरुलाई आफ्नो स्वार्थ लाद्ने कोशिस नगर्न ओलीले चेतावनी दिए । ‘हाम्रा मित्रहरु मित्रकै ठाउँमा बसुन्् छांैंडा खेलाएर रात दिन दु:ख दिने होइन’ प्रधानमन्त्री ओलीले भने, ‘कुनै मित्रराष्ट्रले आफ्नो स्वार्थहरु हामीमाथि लाद्ने कोशिस नगरुन् । कसैलाई ‘सेकुलारिज्म’ नभई भएको छैन कसैलाई ‘हिन्दुइज्म’ नभइ भएको छैन । के गर्ने हो नेपाली जनतालाई निर्णय गर्न दिनुस् न । किन आफ्नो इन्ट्रेस्ट लाद्ने ?’
कुनै पनि छिमेकीसँग नेपालको प्रतिस्पार्धा नरहेको तर आफ्नो सार्वभौमसत्ता जोगाउने गरी आफ्नो कुरा लिएर अघि हिड्न चाहेको ओलीले बताए । ‘हामीले हाम्रो सार्वभौमसत्ता जोगाउने हो हामी कसैकोविरुद्ध छँदैछेनौं,’ प्रधानमन्त्री ओलीले भने, ‘कतिपयले भूराजनीति थाहा पाउनुपर्छ भन्छन्, नेपालीलाई थाहा छैन र भूराजनीति ? ‘राइट टर्न’ भन्दा ‘राइट टर्न’ र ‘लेफ्ट टनर्’ भन्दा ‘लेफट् टर्न’ गर्नुपर्ने ?’
संविधान बनाएपछि आफ्नो सरकार बन्न नदिने कोशिस भएको र बनेपछि पनि त्यसलाई पिठ्यू बनाएर सवार हुन खोजिएको ओलीको बताए । ‘अहिलेको सरकार बन्न भन्दा अगाडिदेखि बन्न नदिने प्रयास थियो तरे बन्यो । त्यसलाई लगाम लगाउन खोजियो,’ ओलीले भने, ‘पिठ्यूमा सवार भएर चढ्न खोजियो । तर नमानेपछि रिस उठ्यो र कस्तो हामीलाई पिठ्यूमा चढ्न पनि दिंदैन भन्दै अन्य गतिविधि गरियो ।’
आफूलाई भारतसँगको सम्बन्ध विगारिस् भनेर केहीले टिप्पणी गर्ने गरेको भन्दै ओलीले त्यसको बचाउ गर्ने कोशिस गरे । ‘कतिले भन्छन् भारतसँगको सम्बन्ध विगारिस् भनेर तर म प्रधानमन्त्री हुँदा नेपालमा आगो बलेको थियो । सर्वसाधारण मारिने क्रम थियो । नाकाबन्दी थियो । त्यसबाट मैले मुलुकलाई निकास दिए,’ ओलीले भने । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले ‘समान्ती राष्ट्रवाद’ भनेर टिप्पणी गरेकोबारे पनि ओलीले जावफ दिए । ‘नाकाबन्दीको कुरा सम्झिदा समान्ती राष्ट्रवाद हो भन्ने विद्वान प्रकट हुनुभएको छ अहिले,’ प्रधानमन्त्री ओलीले भने, ‘मैले एउटा चिनियाँ नाटक हेरेको थिए । त्यो नाटकमा एकातिर मुन्टो झट्कार्दा बादशाह अर्कोतिर मुन्टो भट्कार्दा पुतली आइरहेको जस्तो देखिन्थ्यो त्यसै नेपालमा पनि मुन्टो झट्कार्दै पिच्छे बदलिने गजबको ‘आर्टिस्टिक पोलिटिक्स’ देखिएको छ ।’
ओलीले मधेसका माग किन पुरा नगरेको भनेर टिप्पणी भएकोमा पनि आपत्ति जनाए । ‘माग त केही भए पो पुरा गर्नु ? कसैले हालिदिएको ब्याट्री रत्नपार्कसम्म आइपुग्दा ‘आउटडेटेड’ भयो ‘फिनिस्ड’ भयो,’ उनले भने । यस्ता कुरा थाहा नपाएझै गर्दा, नबोल्दा मात्र कुटनीति राम्रो हुन्छ भन्ने खालको टिप्पणी आउने गरेको भन्दै ओलीले त्यस्ता कुरा मानेर आफू नबस्ने बताए । ‘यस्ता कुरा भन्नु हुँदैन बोल्नु हुदैने त्यो पो कुटनीति हो भन्ने पनि छन्,’ प्रधानमन्त्री ओलीले भने, ‘कुटनीति भन्दा नेपालको हितनीति र स्वाभिमान नीति चाँही पहिलो हो ।’
ओलीले आफ्नो कार्यकालमा केही धेरै गरेजस्तो नलागेको बताए । उनले भने, ‘मैले धेरै केही गरे भन्ने लाग्दैन । मैले खाली नेपाली जनता यसो चाहन्छौ भनेर एउटा प्लेकार्ड मात्र देखाएको हुँ, तर यहाँ गन्न सकिने सानो संख्याले धेरै कुरा क्याप्चर गरेको छ त्यही मार्फत् खेल तमासा भएको छ ।’
कान्तिपुर दैनिक बाट साभार
0 comments:
Post a Comment