दैनिक रुपमा २ लाख अण्डा उत्पादन गर्ने योजना सहित ६० करोडको लागतमा निर्माण गरिएको अत्याधुनिक लेयर्स फार्म ।

२०७४ बैशाख ५
नयाँ घटना डट कम,

स्याङ्जाको भीरकोट नगरपालिका–६, स्थित हेलुमा नेपालकै ठूलो अत्याधुनिक स्वचालित लेयर्स फार्म संचालनमा आएको छ । स्थानीय ७ जना व्यवसायीको ६० करोड बराबरको संयुक्त लगानीमा खिलुङ् कालिका एग्रो फार्म संचालनमा आएको हो ।

दैनिक २ लाख अण्डा उत्पादन गर्ने लक्ष्य सहित निर्माण भएका ४ वटा वातावरण मैत्री घर (ईको सिष्टम हाउस) बाट दैनिक १ लाख ५० हजार अण्डा उत्पादन हुन थालेको छ । २०७१ सालबाट निर्माण शुरु भएको फार्म आंशिक रुपमा २०७२ देखि संचालनमा आएपनि चालु वर्ष २०७३/०७४ पछिल्लो ८ महिनाको अन्त्यबाट पूर्ण रुपमा संचालनमा आएको छ ।

“फार्मबाट दैनिक रुपमा २ लाख अण्डा उत्पादन गर्ने योजना सहित निर्माण गरिएको हो ।” फार्म संचालक समितिका अध्यक्ष गंगा प्रसाद अर्यालले भने, “नेपालकै ठूलो आधुनिक फार्मबाट हाल दैनिक रुपमा १ लाख ५० हजार अण्डा उत्पादन हुने गरेको छ ।” फार्ममा करिब १ सय स्थानीयले रोजगार पाएको उनले बताए ।

करिब ४० रोपनी जग्गामा निर्माण भएको फार्म पूर्ण रुपमा जर्मन प्रबिधिमा आधारित छ । फार्ममा उत्पादीत अण्डाहरु पूर्णतया जैबिक रहेको संचालनले दाबी गरे । उत्पादीत अण्डा गण्डकी, लुम्बिनी र धौलागिरी जिल्लाका विभिन्न बजारमा निर्यात हुदै आएको छ । फार्म संचालनमा आएपछि गतवर्षदेखि स्याङ्जा अण्डामा आत्मनिर्भर भएको हो ।
 

 “फार्म अत्याधुनिक भएपनि उत्पादन हुने अण्डालाई सक्दो जैविक बनाउने प्रयासमा छौं ।” फार्मका प्रमुख कार्यकारी अधिकृत शोभाकान्त ढकालले भने, “बजारको समस्याले पडाही जिल्लामा ठूला लेसर्य फार्म संचालन गर्न सकिदैन भन्ने मान्यताको अन्त्य गर्दै फार्म संचालन गरेका छौं ।” पहाडी भू–भागमा उत्पादन हुने अण्डाको बजारमा कुनै समस्या नरहेको ढकालले जानकारी दिए ।

फार्मबाट दैनिक रुपमा निकासी हुने फोहोर (कुखुराको सुली) लाई व्यवस्थापन गर्दै झण्डै ३ सय ३० किलोवाट क्षमतको बायोग्यास पावर प्लान्ट निर्माण गरिएको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–४, स्थित नागडा“डामा प्लान्ट निर्माण गरिएको हो । प्लान्ट केहि समयभित्र संचालनमा आउने कम्पनीले जनाएको छ ।

“फोहोरको सहि सदुपयोग गर्दै बायोग्यास उत्पादन गर्नु हाम्रो लक्ष्य हो ।” अधिकृत ढकालले भने, “फोहोर पनि व्यवस्थापन हुने र स्थानीयलाई सहुलियत दरमा विद्युत पनि उपलब्ध गराउन सकिने भएपछि प्लान्ट निर्माण गर्न लागेका हौं ।” प्लान्टमा सरकारले निर्धारण गरेका कृषि नीति अनुरुप दैनिक झण्डै ११ टन जैविक मल उत्पादन गर्न सकिने ढकालले बताए ।

जिल्लामा साना–ठूला गरि करिब ३० वटा लेयर्स फर्म संचालनमा छन् । पशु सेवा कार्यालयका अनुसार लेयर्स फर्ममा मात्रै करिब २ अर्बको लगानी रहेको छ । आर्थिक वर्ष २०७२/०७३ को तथ्याङ्क अनुसार जिल्लामा झण्डै १ सय कुखुरा फार्ममा झण्डै १ अर्ब लगानी छ ।

जिल्लामा दैनिक १ लाख ८० हजारको हाराहारीमा अण्डा उत्पादन हुन्छ । कार्यालयका अनुसार वार्षिक १ करोड ३८ लाख ७९ हजार १ सय ४ अण्डा आवश्यक पर्ने यहा“ ६ करोड ५७ लाख अण्डा उत्पादन हुने गर्दछ । विश्व स्वास्थ्य संगठनका अनुसार प्रतिव्यक्ति वार्षिक ४८ वटा अण्डा उपभोग गर्नुपर्ने हुन्छ ।



साभार :- www.farm.com.np
Share on Google Plus

About Anonymous

0 comments:

Post a Comment