नेपालमा रेड कर्नर नोटिसमा भएका १५ मोस्ट वान्टेड ।

काठमाडौं, असार ३१ 
नेपाल प्रहरीको सर्वाधिक खोजीको सूचीमा १३ नेपाली र दुई विदेशी छन् । यिनीहरु इन्टरपोलले जारी गर्ने रेड कर्नर नोटिसमा पनि परेका छन् । रेड कर्नर नोटिसमा परेका १५ जना नै पुरुष हुन् । रेड कर्नर नोटिसमा पर्नेहरु हत्या र ठगी अपराधका व्यक्ती छन् । 
दुई वटा कारणले अपराधी रेड कर्नर नोटिसमा पर्ने नेपाल प्रहरीका केन्द्रिय प्रवक्ता माधवप्रसाद जोशीले बताउनुभयो । ‘एउटा अदालती कारण हुन्छ । जसमा अदालतले दुई वर्षको कैद फैसला सुनाइ सकेको फरार व्यक्तीलाई रेड कर्नरको नोटिसमा राखिन्छ’ प्रवक्ता जोशीले भन्नुभयो, ‘अर्को अदालतमा मुद्दा चलेको तर फैसला नभएको । फैसला हुँदा कम्तीमा पनि ६ महिनासम्म कैद सजाय हुनसक्ने व्यक्ती रेड कर्नर नोटिसमा पर्छन् ।’ जघन्य अपराध गरेका, जीउ मास्ने, बेच्ने तथा आर्थिक ठगी गरेका अपराधी रेड कर्नर नोटिसमा पर्छन् । 

१. भुपेन्द्र खड्का (४१ वर्ष)
विदेशमा टन्न कमाइ हुने ठाउँमा पठाइ दिन्छु । त्यसपछि तपाईको लाइफले नै अर्को बाटो लिन्छ भन्दै झुटा आश्वासन देखाए खड्काले । खड्काको आश्वासनमा लोभिएका ६ जना विदेश जाने तरखर गरे । ‘काँ जालास मछली मेरै ढडिया’ भनेझंै भयो खड्कालाई । ६ जनाबाट चार करोड पचास लाख रुपैयाँ असुले । सन् २००७ अगस्टमा पैसा असुलेदेखि उनी अहिलेसम्म फरार छन् । प्रहरीको सार्वाधिक खोजीको सूचीमा रहेका खड्का इन्टरपोलको रेड कर्नर नोटिसमा पनि परेका छन् । खड्का काठमाडौं–२९ का बासिन्दा हुन् । 
२. भक्तबहादुर लामा (३४ वर्ष)
भक्तबहादुरले पनि भुपेन्द्रको जस्तै जुक्ती लगाए । नेपालमा रोजगारी अभावको मौका छोप्दै उनले पनि राम्रो कमाइ हुने भन्दै पैसा उठाउन थाले । उनले विभिन्न व्यक्तीबाट दुई करोड १० लाख रुपैयाँभन्दा बढी असुलेको प्रहरीमा उजुरी परेको छ । सन् २००७ मार्चमा पैसा असुलेदेखि अहिलेसम्म उनी गुमनाम छन् । प्रहरीले उनलाई सर्वाधिक खोजीको सूचीमा राख्नुका साथै रेड कर्नर नोटिसमा पनि राखेको छ । उनी नुवाकोटका हुन् । 
३. विष्णुबहादुर लामा (३३ वर्ष)
नुवाकोटका विष्णुबहादुर र भक्तबहादुरले मिलेर ठगी गरेका हुन् । यि दुई मिलेर विदेश पठाइदिन्छु भन्दै दुई करोड १० लाख रुपैयाँभन्दा बढी रकम उठाएर फरार छन् । उनी सन् २००७ देखि इन्टरपोलको रेड कर्नर नोटिसमा छन् । 
४. रामबहादुर तामाङ (३२ वर्ष)
रामबहादुर, भक्तबहादुर र विष्णुबहादुर तीनै जना नुवाकोटका हुन् । यी तीनै जनाले विदेश पठाइदिन्छु भनेर ठगी गरेको उजुरी परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । यी तीनै जना एउटै मुद्दाका फरार अपराधी हुन् । यिनी भने सन् २००८ देखि रेड कर्नर नोटिसमा परेका छन् । 
५. केशव दर्लामी मगर (३७ वर्ष)
धनकुटाका दर्लामीले सन् २००८ मामेघा देवकोटालाई अपहरण गरेका थिए । अपहरण गरेपछि मेघाका बुबा उपेन्द्रसँग १३ लाख रुपैयाँ फिरौती लिएका थिए । त्यस्तै दर्लामीले अन्य लुटपाटमा पनि संलग्न भएर १६ लाख रुपैयाँ भन्दा बढी असुलेको उजुरी परेको छ । 
६. फकिर रियाज (४१ वर्ष)
सन् २००८ मे ६ को रात रुपन्देहीमा तारानाथ बोहराको हत्या भयो । हत्यामा संलग्न थिए रुपन्देहीकै फकिर रियाज । रहस्यमय तरिकाले बोहोराको हत्या गरेका उनी अहिले फरार छन् । उनलाई पक्रन प्रहरीले इन्टरपोलमा रेड कर्नर नोटिस जारी गरेको छ । 
७. अंगविर बोहरा (३१ वर्ष)
सुदूरपश्चिमको दार्चुलाको गठ्ठेखोलामा–४ मा ६ वर्षकी बालिकाको बलात्कार भयो । बलात्कार गर्ने व्यक्ती थिए रानिसिखा–७ दार्चुलाका ३१ वर्षे अंगविर बोहरा । उनी विरुद्ध जिल्ला प्रहरी कार्यालय दार्चुलामा मुद्दा परेको छ । तर उनी अहिलेसम्म फरार छन् । 
८. रामकुमार यादव (३७ वर्ष)
जुलाई १६, २००७ मा गंगाप्रसाद यादवको इहलिला समाप्त भयो । गंगाप्रसादको इहलिला समाप्त पार्ने व्यक्ती थिए सिरहाका रामकुमार यादव ।  रामकुमारले यतिमात्र     गरेनन् विभिन्न व्यक्तीलाई अपहरण गर्दै फिरौती पनि असुलेका थिए । उनी विरुद्ध ज्यान मार्ने तथा अपहरण गरेको मुद्दा जिल्ला प्रहरी कार्यालय सिरहामा परेको छ । 
९. पशुपतिनाथ शुक्ला (५० वर्ष)
तीन वर्षदेखि इन्टरपोलको रेड कर्नर नोटिसमा परेर खोजीको सूचीमा रहेका व्यक्ती हुन् शुक्ला । उनी एक व्यवसायी थिए । उनले भारतीय व्यापारी आरिफ अन्सारीलाई शुक्लाले आफ्नो कम्पनी एड्भान्स पावर डिभाइस प्रालिको नामबाट ३३ लाख रुपैयाँको बाउन्स चेक दिएका थिए । उनी पनि प्रहरीको सर्वाधिक खोजीको सूचीमा छन् । शुक्ला कपिलवस्तुका हुन् । 
१०. रुद्र आचार्य (३२ वर्ष)
सन् २००४ मे ७ मा चितवनका कृष्णप्रसाद अधिकारीको अपहरण भयो । अपहरणमा परेको केही बेरमा नै चितवनकै रत्नगरचोकमा अधिकारीको लाश फेला पर्‍यो । अधिकारको हत्या गर्ने व्यक्ती थिए चितवनकै रुद्र आचार्य । उनी विरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा मुद्दा परेको छ । 
११. एमडी हकील हुसेन (४१ वर्ष)
दुई वर्षदेखि इन्टरपोलको रेड कर्नर नोटिसमा परेका छन् टिकौली–७ सप्तरीका हुसेन । सन् २०१३ मा हुसेनले सप्तरीको जन्डोल–८ का एक व्यक्तीको हत्या गरेका थिए । उनी विरुद्ध अदालतले पनि हत्या गरेको फैसला सुनाएको थियो । तर उनी फरार छन् । 
१२. ओकेन्द्रबहादुर सिंह (४६ वर्ष)
सन् २०१५ अगस्ट २९ मा बाजुराका ओकेन्द्रले शेरबहादुर रोकायाको हत्या गरेको आरोप छ । उनी दुई वर्षदेखि रेड कर्नर नोटिसमा छन् । ओकेन्द्र विरुद्ध जिल्ला प्रहरीका कार्यालय बाजुरामा उजुरी परेको छ । 
१३. पवनकुमार कार्की (४६ वर्ष)
कार्की काठमाडौं महानगरपालिका–१० का बासिन्दा हुन् । उनी चार वर्षदेखि प्रहरीको रेड कर्नर नोटिसमा छन् । उनीमाथि बैंकिङ कसुर गरेको आरोप छ । कार्कीले एक अर्ब २२ करोड रुपैयाँ भन्दा बढी ठगी गरेको आरोप छ । 
दुई विदेशी नागरिक
दुई विदेशी नागरिक विरुद्ध इन्टरपोलको नेपालमा रहेको शाखाले रेड कर्नर नोटिस जारी गरेको छ । कुनै पनि देशमा गएर गैह्र कानुनी काम गर्दा विदेशी नागरिक विरुद्ध पनि रेड कर्नर नोटिस जारी गर्न सक्ने प्रावधान छ ।  
१४. हल्दिया राहुल (५७ वर्ष)
हल्दियाले डाबर नेपाल मल्टिनेशनल कम्पनीमार्फत तीन करोड ६५ लाख रुपैयाँभन्दा बढी ठगी गरको आरोप छ । भारतको राजस्थानका उनी नौ वर्षदेखि रेड कर्नर नोटिसमा छन् । उनी विरुद्ध महानगरी प्रहरी अपराध महाशाखामा उजुरी परेको छ । 
१५. लन बकर (५८ वर्ष)

अमेरिकी नागरिक हन् लन बकर । उनले काठमाडौंमा अबैध रुपमा जंगली जनावरका हाड, टाउको, छालालगायत विभिन्न भागहरुको कारोबार गर्ने गरेको प्रहरीले जनाएको छ । 

के हो रेड कर्नर नोटिस ?
पक्राउ पूर्जी जारी भएका फरार अपराधीको अन्तर्राष्ट्रिय स्तरमा खोजीका लागि जारी गरिने सूचना नै रेड कर्नर नोटिस हो । अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन इन्टरपोल समक्ष यो सूचना जारी गरिन्छ । इन्टरपोलले खोजी गरी सकेपछि त्यस्तो अपराधीलाई सम्बन्धित राष्ट्र समक्ष बुझाउँछ । 
विश्वमा लुकीछिपी बसेका अपराधीलाई पक्राउ गर्न विश्वभरिका प्रहरी संगठनभित्र सहकार्यका निम्ति गठन गरिएको अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन इन्टरपोल हो । सन् १९२३ मा अष्ट्रियाको भियनामा यसको स्थापना भएको हो । 
इन्टरपोलमार्फत एक देशमा अपराध गरेर अर्को देशमा लुकेका अपराधीलाई पक्राउ गरिने प्रवक्ता जोशीले बताउनुभयो । सन् १९६७ मा इन्टरपोलको सदस्यता पाएको नेपाल यसको एक सय औं राष्ट्र हो । इन्टरपोलमा हालसम्म १ सय ९० वटा देश सदस्य छन् । यि एक सय ९० वटा राष्ट्रमा लुक्ने कुनैपनि अपराधीलाई त्यहाँको प्रहरीले पक्राउ गरेर सम्बन्धित देशलाई बुझाउने गर्छन् । 

साभार:- उज्यालो अनलाईबाट 
Share on Google Plus

About Anonymous

0 comments:

Post a Comment